करदाता सेवाप्रवाहमा २१ करोड भन्दाबढी राजस्व संकलन

काठमाडौँ । करदाता सेवा कार्यालय बेसीशहरमा एक आर्थिक अवधिमा २१ करोड बढी राजस्व संकलन भएको छ । लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएसँगै आर्थिक वर्ष २०७७/०७८ मा २१ करोड ८६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागअन्तर्गत आन्तरिक राजस्व कार्यालय दमौलीले गत असोज २२ गते बेसीशहरमा करदाता कार्यालय स्थापना गरी सेवा सुरु गरेको हो । सेवा सुरु भएको १० महिनाको अवधीमा सो रकम राजस्व संकलन भएको हो ।

कार्यालय स्थापना भएको १० महिनाको अवधिमा सबैभन्दा धेरै आयकर संकलन भएको छ । कुल संकलित राजस्वमध्ये आयकर शिर्षकमा मात्र १३ करोड ७९ लाख १८हजार संकलन भएको छ । त्यस्तै पाँच करोड ५९ लाख ८३ हजार मूल्य अभिवृद्धि कर संकलन भएको छ भने व्याज कर मात्र एक करोड ६० लाख ९० हजार संकलन भएको कार्यालय प्रमुख लेखनाथ रेग्मीले बताउनुभयो ।

कार्यालय प्रमुख रेग्मीका अनुसार हालसम्मको अवधिमा सबैभन्दा कम अन्तशुल्क शिर्षकमा १२ लाख ७३ हजार राजस्व संकलन भएको छ । त्यस्तै घरबहाल कर बापत ७४ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै पाँच करोड ३१ लाख चार हजार राजस्व संकलन गरेको थियो ।

असार महिनामा आयकर मात्रै तीन करोड २३ लाख ९९ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । लमजुङ र मनाङवासीलाई सेवा दिँदै आएको करदाता सेवा कार्यालय बेसीशहरले दुई जिल्लाका झण्डै ११ हजार भन्दाबढी करदाताबाट सो राजस्व संकलन भएको जनाएको छ । बेसीशहरमा करदाता कार्यालय स्थापना भएपछि असोज यता मात्रै पनि दुई हजार चारसय ७० करदाता थपिएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो ।

कार्यालयमार्फत कर दाखिला साथै व्यक्तिगत प्यान, प्यान दर्ता, नविकरण, खारेजी, आयव्यय विवरणलगायतका सेवा प्रवाह हुँदै आएको छ । बेसीशहरमा करदाता सेवा कार्यालय स्थापना भएसँगै कर बुझाउनकै लागि पोखरा या दमौली जानुपर्ने बाध्यता हटेको छ । यसअघि लमजुङ र मनाङका करदाताहरु कर बुझाउनका लागि दमौली तथा पोखरा जानुपर्ने बाध्यता थियो । karobardailyबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार