पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिनुभएको हो ।

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उहाँले भन्नुभएको छ , ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’

नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बन्नुभएकाको थियो । सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित हुनुभएको थियो । उहाँको प्रेरणामा नेपाल अन्डर १९ विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।

नेपालका लागि उहाँले १० वटा एकदिवसीय खेलमा एक शतक र अर्धशतकसहित ३१५ रन बनाउनुभएको छ । त्यस्तै ३३ टी–२० खेलमा एक शतक र ४ अर्ध शतकसहित उहाँले ७९९ रन बनाउनुभएको छ । एक दिवसीयमा उहाँले ९ विकेट तथा टी–२० मा ८ विकेट लिन सफल हुनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार