चीनमा डेल्टा भेरियन्टको संक्रमण बढ्यो

काठमाडौं । कोरोना भाइरसको अतिसंक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलन थालेपछि चीनमा चिन्ता बढ्न थालेको छ । गत दश दिनको अवधिमा चीनमा ३ सयभन्दा बढी संक्रमण भेटिएपछि स्थानीय सञ्चारमाध्यमहरुमा संक्रमणको खबरले प्राथमिकता पाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

नयाँ प्रकोपको खबरले प्राथमिकता पाएको र श्वासप्रश्वास रोग सम्बन्धी चीनका वरष्ठ विज्ञहरुले पनि गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ । चीनको वुहान शहरमा डेल्टा भेरियन्ट संक्रमित ७ जना भेटिएका छन् । कोरोना भाइरसको प्रकोप पनि यहिबाट सुरु भएको थियो ।

दक्षिण नान्जिङ क्षेत्रबाट सुरु भएर उक्त संक्रमण अहिले चीनको कम्तीमा १५ वटा प्रान्त र २० वटा नगरपालिकामा फैलिसकेको बताइएको छ । संक्रमण बढ्न थालेपछि सरकारले यात्रासम्बन्धी नयाँ प्रतिबन्धहरु लागु गरेको छ । र, लाखौं संख्यामा परीक्षण गरिरहेको छ ।

नान्जिङ विमानस्थलमा काम गर्ने कर्मचारीमा पहिलो पटक डेल्टा भेरियन्ट संक्रमण भेटिएको थियो । उनीहरुले रुसबाट आएको एउटा जहाजको सफाइ गरेको थियो । संक्रमण देखिएको सबै स्थानहरुसँग अहिले बेइजिङको हवाई तथा स्थल सम्पर्कहरु विच्छेद गरिएको छ ।

अरु देशहरुको तुलनामा संक्रमित हुने मानिसको संख्या कम भएपनि चीनमा केही महिनायताकै ठूलो प्रकोपको रुपमा लिएको छ । चीनले अहिले डेल्टा भेरियन्टको प्रकोपलाई नियन्त्रण गर्ने संघर्ष गरिरहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार