जापानबाट तीन लाख मात्रा खोप आइपुग्यो

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिनुभयो ।

जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार पाँच लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।

हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै संक्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४ सय ३३ खोप केन्द्र थप गरेको हो ।

पहिले दुई हजार ९ सय ८९ खोप केन्द्र भएकामा अहिले त्यो संख्या चार हजार ४ सय २२ पु¥याइएको छ । काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १ सय ४९ पु¥याइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार