काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ ।महाधिवेशन सार्ने या फास्ट ट्रयाकमार्फत अघि बढ्ने भन्ने विषयमा आज दिउँसो बोलाइएको पदाधिकारी बैठकअघि उहाँ आफू निकट नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो।
देउवा निकट एक नेताका अनुसार आज दिउँसो बस्ने बैठकमा धारणा तय गर्नका लागि छलफल गर्न लागिएको हो । उहाँका अनुसार अहिले केहीबेरमा बूढानीलकण्ठमा देउवाले छलफल गर्दैछन् ।
देउवा महाधिवेशन केही समय सार्ने तयारीमा हुनुहुन्छ भने नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने निष्कर्ष निकालेका छन् । पौडेल निकट जिल्ला सभापतिहरुको भेलाले पनि यही निष्कर्ष निकालेको छ ।
औपचारिक धारणा आज सार्वजनिक गर्न लागेका जिल्ला सभापतिहरुलाई दबाबमुलक कार्यक्रम नल्याउन नेतृत्वले सुझाव दिएको एक नेताले जानकारी दिनुभयो ।भोलि बस्ने केन्द्रीय समितिको बैठकअघि महाधिवेशनका विषयमा निर्णय गरिने कांग्रेस नेताहरुले बताएका छन । नागरिक खबरबाट


























