कास्कीमा ८७ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

कास्की । जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् ।

कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर खोप लगाइएको कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो।

एक मात्रामात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप २५ हजार जनाले लगाएका छन् । उक्त खोप २५ हजार १५० मात्रा प्राप्त भएकामा १५० खोप वैदेशिक रोजगारीमा जानेहरूका लागि लक्ष्य गरी सुरक्षित राखिएको छ ।

यसैगरी भेरोसेलको पहिलो मात्रा लगाउने ४६ हजार ५०० रहेकामा ४६ हजार ९६० ले दोस्रो मात्रा लगाइसकेका छन् । अन्यत्र पहिलो मात्रा लगाएका ४६० जनालाई पनि दोस्रो मात्रा लगाइएको थियो ।

पाँच महिनापछि कोभिसिल्डको दोस्रो मात्रा

जिल्लामा गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ३२ हजारलाई पाँच महिनापछि दोस्रो मात्राको खोप दिन लागिएको छ । दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिका उमेर समूहका लागि अस्ट्राजेनिकाको खोप दिइने उहाँले जानकारी दिनुभयो।

कार्यालय प्रमुख आचार्यले भने, “हामीलाई अस्ट्राजेनिकाको ३२ हजार मात्रा खोप प्राप्त भइसकेको छ । अहिले भेरोसेलको दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेकाले कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई केही दिनमै दोस्रो डोज दिन शुरु गर्दैछौँ ।” रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार