हेटौँडा उपमहानगरपालिकाद्धारा २२ करोड राजस्व सङ्कलन

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ रु २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो ।

राजस्व सङ्कलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर रु चार करोड ९६ लाख ३१ हजार ५६९ सङ्कलन गरिएको कार्यालयले जनाएको छ । पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर रु एक करोड ८६ लाख १८ हजार ६०० सङ्कलन गरिएको हो ।

अन्य सेवा तथा शुल्क र बिक्रीबाट रु एक करोड ३९ लाख ७० हजार ६०९ सङ्कलन गरिएको छ । विभिन्न प्रकारका सिफारिस दस्तुरबाट रु दुई करोड ९९ लाख ९१ हजार ७७२, नक्सापास दस्तुरबाट रु एक करोड ८९ लाख ९३ हजार ९ सय ३९ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ । त्यसैगरी उपमहानगरपालिकाले बहाल करबाट पनि रु दुई करोड २४ लाख एक हजार ६९ कर सङ्कलन गरेको छ । विभिन्न २२ वटा शीर्षकमा उपमहानगरपालिकाले आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कुनै पनि क्षेत्रमा करमा वृद्धि नभएको र सङ्घ र प्रदेश सरकारले बनाएका कानूनका आधारमा कर लिँदै आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो । यसैबीच हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा नदीजन्य पदार्थमा मात्र रु चार करोड ११ लाख १३ हजार सङ्कलन गरेको छ । प्रदेश सरकारलाई समेत यो रकम बाँडफाँड गर्नुपर्ने हुन्छ ।

त्यसैगरी नदीजन्य पदार्थको लिलाम बिक्रीबाट ७८ लाख ५८ हजार सङ्कलन गरिएको उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा नगर क्षेत्रभित्रका क्रसर उद्योगसँग असूल गर्न बाँकी रु एक करोड ८८ हजार पनि असुल गरेको छ । वन रोयल्टीको ६० लाख सङ्कलन गरिएको कार्यालयले जनाएको छ । महानगरपालिकाले माटो बिक्रीबाट रु १२ लाख ९५ हजार सङ्कलन गरेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार