कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू

कास्की । कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् ।

प्रशासनको निर्देशन पछि प्रहरीले पोखरामा जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । प्रहरीले पोखराको मुख्य चोकहरू महेन्द्रपुल, बगर, चिप्लेढुङगा, अमरसिंह चोक, बुद्धचोक, पृथ्बीचोक, जिलो किलोमिटर लगायतका ठाउँमा चेकजाँच गरेर दर्जनौ सवारी नियन्त्रणमा लिएको छ ।

अनावश्यक काममा बाहिर हिँड्ने सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा पोखराका विभिन्न स्थानबाट अहिलेसम्म १८८ वटा दुई पाङ्ग्रे सवारी साधन र १९ वटा चार पाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख एवम् प्रहरी निरिक्षक अमृत बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार कास्कीमा मात्र जोर बिजोर प्रणाली लागू भएकाले पोखराबाट बाहिरिने र पोखरा भित्रिने सवारीका साधनलाई सहजताका लागि पासको ब्यवस्था गरिएको बताउनुभयो ।

अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ । प्रशासनले ३ गते राति १२ बजेबाट लागू हुनेगरी भदौ १० गते राति १२ बजेसम्मका लागि एक साता निषेधाज्ञाको समय थपेको छ । जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सबै क्षेत्रमा पुनः एक साता बन्देज लगाइएको छ । प्रशासनले जारी गरेको विज्ञप्तिमा विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पूर्व निर्धारित बाहेकका परीक्षा सञ्चालन नगर्न भनिएको छ ।

भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ । पूर्व निर्धारित वैवाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा १५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ । त्यस्तै सार्वजनिक सवारीको ढोकामै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, यात्रु चालकले अनिवार्य मास्क लगाउनुपर्ने र सहचालकले अनिवार्य मास्कसहित फेस शिल्ड र पञ्जा समेत लगाउनुपर्ने प्रशासनले आदेश जारी गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार