
काठमाडौं। हास्य कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड १ करोड पुरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताउनुभयो ।
उप्रेतीले कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले हाम्रो पात्रोको व्यवसायिक प्रवर्द्धनमा कलाकार सन्दीप क्षेत्रीको साथले अझ अगाडि बढ्न सहयोग गर्ने अपेक्षा गरेको बताउनुभयो ।
यसैगरी, हास्य कलाकार क्षेत्रीले हाम्रो पात्रो आम नेपालीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण विषय भएको बताउनुभयो । उहाँले आफूले मोबाइलमा सवैभन्दा पहिले डाउनलोड गरेको नेपाली एप हाम्रो पात्रो भएको पनि बताउनुभयो ।
एउटै एपबाट अनेक सेवा दिँदै आएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हालै मात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ । बेटा भर्सनमा समेत रहेको यो सुविधा अब चाडै पूर्णरुपमा आईओएसमा समेत उपलब्ध हुने हाम्रो पात्रोले जनाएको छ । रातोपाटीबाट