तुइन घटना छानबिन समितिको म्याद भदौ १५ सम्म थपियो

काठमाडौँ । सरकारले तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद दोस्रो पटक थप गरेको छ । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ राय सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो ।

तर, तोकिएको समयमा प्रतिवेदन पेस नभएपछि गृह मन्त्री बालकृष्ण खाँणले साउन २५ गते पहिलो पटक एक साताको म्याद बढाएका थिए । पहिलो पटक थपिएको अवधिमा पनि काम नसकिएपछि दोस्रो पटक मंगलबार थप एक साता म्याद थप गरिएको हो । गृह मन्त्रालयका अनुसार भदौ १५ गतेसम्म समितिको म्याद थपिएको छ ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका २ मालाघाटस्थित महाकालीबाट तुइन तरेर भारतको गस्कु जाने क्रममा एसएसबीले लठ्ठा फुस्काएपछि ३३ वर्षीय नेपाली जय सिंह धामी बेपत्ता भएका थिए । तुइनको लट्ठा भारतीय एसएसबीले काटिदिएको भन्दै स्थानीयले कारबाहीको माग गर्दै आएपनि न छानबिन समितिले सत्यतथ्य बाहिर ल्याएको छ न स्थानीय प्रहरीले घटनामा संलग्‍नलाई पहिचान नै गर्न सकेका छन् ।

तुइन घटना अनुसन्धानमा भारतको ‘असहयोग’

लट्ठा खुस्काएकार भागेका एसएसबीका जवानमाथि अनुसन्धान गर्न माग गरिएपनि भारतीय प्रशासनले संलग्‍नताबारे अस्वीकार गर्दै आएको छ । सरकारले साउन १७ गते सहसचिव गौतम नेतृत्वको छानबिन समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् ।

सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकाले पनि सरकारलाई प्रतिवेदन पेस गर्न सकेको छैन । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार