
मकवानपुर । मालबाहक ट्रक अनियन्त्रित भइ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । फलाम बोकेर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको माल वाहक ट्रक अनियन्त्रित भइ त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारको राप्ती खोलामा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको मालवाहक आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा ट्रकमा सवार अन्दाजी ३० वर्षको एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको उहाँले बताउनुभयो। मृत्यु हुने व्यक्तिको सनाखत हुन नसकेको नायव उपरीक्षक रिमालले बताउनुभयो ।
त्यसैगरी, दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक मोरङ जिल्लाको सुन्दरहरैचा गाउँपालिका वडा नम्बर–८ बस्ने बर्ष ३१ को राजन बाँस्कोटा र सहचालक सोही ठाउँ बस्ने २४ बर्षीय सरोज आचार्य रहेको प्रहरीले जनाएको छ । घाइते चालकको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सहचालकका अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताउनुभयो। रातोपाटीबाट