बबई नदीले बगाउँदा मलामी गएका एक व्यक्तिको मृत्यु

दाङ । दाङमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं.१ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताउनुभयो।

देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकीस्थित निर्माणाधीन बबई पुल नजिकबाट बगाएको र पाँच सय मिटर दक्षिणको बैबाङमा शव फेला परेको डिएसपी अर्यालले जानकारी दिनुभयो।

‘गाउँकै एक जना मानिसको मृत्यु पछि गाउँलेहरू मलामी गएका रहेछन्,’ डिएसपी अर्यालले भन्नुभयो,‘देवकोटा नुहाउन बबईमा पसेपछि बाढीले बगाएर लगेको रहेछ।’

मलामी गएका मानिसहरू घर फर्किने क्रममा परम्परा अनुसार नुहाउने प्रचलन छ। त्यही क्रममा देवकोटा बगेको र स्थानीयले पाँच सय मिटर दक्षिणबाट उनको शव भेटिएको प्रहरीले जनाएको छ । देवकोटा दंगिशरण १ बाँकीका ९० वर्षीय दिलबहादुर रानाको मृत्यु भएपछि गाउँले सँगै मलामी गएका थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार