काभ्रेमा स्क्रब टाइफसबाट ४ जनाको मृत्यु

काभ्रे । स्क्रब टाइफसका कारण काभ्रेमा पछिल्लो दुई सातामा ३ बालबालिका र एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिश जोशीका अनुसार केही दिनयता अस्पतालको बालरोग विभागमा मात्रै दिनहुँ ३–५ जनासम्म स्क्रब टाइफसका बिरामी आउने गरेका छन् ।

‘१०–१२ दिनदेखि ज्वरो आएको भन्दै अस्पताल आएका १०–१२ वर्षका ३ बालबालिकाको मृत्यु भएको हो,’ डा. जोशीले भन्नुभयो। उनीहरू काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकका हुन् । एक ज्येष्ठ नागरिकको भने डिस्चार्ज गरिसकेपछि मृत्यु भएको उहाँले जनाउनुभयो ।

‘समयमै पत्ता लाग्यो भने सामान्य औषधि उपचारले यो रोग निको हुन्छ । ढिला भए श्वासप्रश्वास, फियो, मिर्गौलालगायतका अंगमा असर गरेर बिरामीको मृत्यु पनि हुन सक्छ,’ उहाँले भन्नुभयो । यो रोग लाग्न नदिन सरसफाइमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । यो रोग मुसामा पाइने किर्नाको टोकाइबाट सर्छ । धुलिखेल अस्पतालको इन्टरनल मेडिसिनमा कार्यरत डा. प्रकाश सापकोटाका अनुसार खेत, झाडीलगायत बाहिरी वातावरणमा पाइने यो किर्नाले मुसालगायत माध्यम हुँदै मानिसलाई टोक्छ ।

यसले टोकेको ठाउँमा कालो दाग र वरिपरि रातो बिमिरा आउने, उच्च ज्वरो र जीउ दुख्ने पनि हुन्छ । यस्तो लक्षण लिएर आएका ९९ प्रतिशत बिरामीमा स्क्रब टाइफस पुष्टि हुने गरेको उहाँको भनाइ छ । अस्पतालको आकस्मिक विभाग प्रमुख डा.सानुकृष्ण श्रेष्ठले लक्षणसहित आकस्मिक कक्षमा आउनेलाई आशंका गरी परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भइरहेको बताउनुभयो ।

उहाँका अनुसार उक्त किर्नाले टोकेपछि १–३ सातासम्ममा लक्षण देखिन सक्छ । वर्षा, बाढी, पहिरो, भूकम्प गएको समयमा अव्यवस्थित बसोबास हुँदा यसको जोखिम बढी हुन्छ । ‘झाडी आसपास ओसिलो स्थानमा खेल्ने बालबालिकामा पनि यसको जोखिम बढी हुन्छ,’ उहाँले भन्नुभयो। धुलिखेल अस्पतालका मेडिकल माइक्रोबायलोजिस्ट सुरेन्द्र कुमार मधुपका अनुसार वैशाख १८ यता स्क्रब टाइफसको आशंकामा परीक्षण गरिएका १ सय ३१ मध्ये २० जनामा यो रोग पुष्टि भएको छ ।

बनेपास्थित शिर मेमोरियल अस्पतालका मेडिकल निर्देशक डा. एञ्जेला बस्नेतले अस्पतालमा भर्ना भएका स्क्रब टाइफसका बिरामी निको भएर फर्किएको बताउनुभयो। स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले यो रोगका बिरामी पहिचान हुन थालेकाले स्थानीय तहसमेतको समन्वयमा नियन्त्रणको प्रयास गरिने बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार