पोखरामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

पोखरा । पोखरामा लगातार परेको भारी वर्षाका कारण पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लकको घर पहिरोले भत्किँदा ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर घाइते भएकी नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताउनुभयो। मृतक लक्ष्मी नेपालीको १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचारपछि आज विहान अस्पतालबाट डिस्चार्ज भएको उहाँले बताउनुभयो।

त्यस्तै, भारी वर्षाका कारण पोखराको भलाममा ३५ वर्षीय सुनमाया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको ब्लकले बनेको घर पहिरोले पुरिँदा घाइते भएका श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएका श्रेष्ठका ९ वर्षिय छोरा राजकुमार श्रेष्ठको मणिपालमा उपचार भइरहेको छ । त्यस्तै, घटनामा परेर श्रेष्ठका अर्का ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन् । वेपत्ता भएका बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार