एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ३ खेलाडीको डेब्यु

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँग मंगलबार भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले तीन खेलाडीलाई डेब्यु गराएको छ । अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ब्याट्सम्यानद्वय आसिफ शेख, कुशल भुर्तेल र बलर विक्रम सोबलाई डेब्यु गराएको हो ।

ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपालले तयारीका क्रममा पीएनजीसँग खेलिरहेको छ।वैशाखमा काठमाडौंमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० प्रतियोगिताले कुशल भुर्तेल र आसिफ शेखलाई स्थापित गरेको थियो । जबकि उनीहरूले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी नै थियो । पपुवा न्युगिनीसँगको आजको खेलबाट यी दुईले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।

नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी–२० मा ओपनिङ ब्याटिङ जोडी कुशलले ५ खेलमा २ सय ७८ र आसिफले १ सय ५४ रन बनाएका थिए । यी दुईको उदय र पारसको संन्यासपछि कप्तान ज्ञानेन्द्र मल्ल पुनः तेस्रो नम्बरको ब्याटिङमा फर्किने निश्चित छ । चौथो नम्बरमा आरिफ शेख र शरद भेषावकरमध्ये एकले खेल्न सक्छन् । पाँचौंदेखि सातौं नम्बरमा क्रमशः दीपेन्द्र, कुशल मल्ल र विनोद भण्डारीले खेल्ने तय भए पनि दीपेन्द्रले चोट बोकेको बताइएको छ ।

बाँकी चार स्थान बलरको हुनेछ । त्यसमा एक्लो स्पिनरको रूपमा सन्दीप लामिछाने हुनेछन् भने तीन तीव्र गतिका बलर हुनेछन् । जसमा दुईजना सोमपाल कामी, करण केसी छन् । टोलीका अर्का तीव्र गतिका बलर विक्रम सोबले डेब्यु गर्ने मौका पाएका छन् । पारसबिना नेपालले पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । अघिल्लो साता ओमान पुगेसँगै डेव ह्वाटमोरले नेपालको प्रशिक्षकको रूपमा यो आफ्नो अन्तिम भ्रमण हुने बताएका थिए । ह्वाटमोरकै प्रशिक्षणमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट खेलिरहेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार