ठेकेदारको लापरबाहीले बेनी अस्पतालको भवन अलपत्र (तस्बिर सहित)

म्याग्दी ।म्याग्दीको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको छ । ठग ठेकेदारको लापरबाही र सम्बन्धित सरोकारवालाहरुको बेवास्ताको कारण ५० शय्याको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको हाे ।  भवन निर्माण अलपत्र हुँदा अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो एक बर्ष यता भवन निर्माण स्थलमा स्रोत साधन र मजदुर परिचालन गरिएको छैन् भने निर्माणको जिम्मा लिएका ठेकेदारहरु सम्पर्कविहिन भएका छन् ।

तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बि.स.२०७३ मङसिर २१ गते ५० शैय्या क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २४ करोड चार लाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रबिन जोशीले लिनुभएको थियो । बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि बेवास्ता भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले जनाएको छ ।चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले जनाएको छ ।तीन तला ढलान र दोस्रो तलासम्म पलास्टर भइसकेको भवनमा टायल राख्ने, रंगरोगन, बिद्युत, पानी र फर्निचर जडान लगायतका काम बाँकी छन्। सार्वजनिक खरिद ऐनको पछिल्लो संसोधन र कोरोनाका कारण थप भएको म्याद २०७८ जेठ २० गते सकिएको छ ।

स्वास्थ्य जस्तो संवेशनशिल क्षेत्रको विकासमा समेत यस्तो चरम लापरबाही हुँदा जिल्लामा क्रियाशिल राजनितिक दल ,सांसद तथा अन्य सरोकारवाला पक्षहरु केही बोल्न सकेका छैनन् । अदालतको आदेशअनुसार आयोजनाले दुई करोड रुपैयाँको बिल भुक्तानी रोकेर राखेको छ । भवन निर्माण अलपत्र बनेपछि सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको उहाँले बताउनुभयो ।

नयाँ भवन बनाउन पुरानो भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनमा सञ्चालन भएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।निर्माणाधिन भवनका दुई तीन वटा कोठामा अस्थाई संरचना बनाएर कोरोना संक्रमितको उपचार गर्ने एचडियु सहितको आइसोलेशन सञ्चालन गरेको छ । भवन अभावमा आइसीयु, एमआरआई, सिटिस्क्यान सेवा विस्तार हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डण्ट जितेन्द्र कँडेलले बताउनुभयो ।‘भवन नबन्दा बिरामीको उपचारमा समस्या भइरहेको छ’ उहाँले भन्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्ष माधवप्रसाद रेग्मीले ठेकेदारको लापारबाहीले अस्पताल भवन निर्माण अलपत्र परेको बताउनुभयो । उहाँले भवन अभावमा जिल्लाका बिरामीहरु उपचारका लागि महँगो खर्च गरेर पोखरा, काठमाडौ, चितवन लगायतका सहरमा जान बाध्य भएको गुनासो गर्नुभयो । बर्षातको कारण सडक अवरुद्ध भएको र कोरोना महामारीका कारण निर्माण सामग्री ल्याउन समस्या भएपछि भवन निर्माणको काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार