सर्वोत्तम स्टिलमा विस्फोट : उपचाररत १५ मजदुरमध्ये ५ को मृत्यु

वीरगन्ज । गत भदौ १० मा सर्वोत्तम स्टिलको भट्टीमा भएको विस्फोटमा घाइते भएका १५ जना मजदुरमध्ये ५ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित स्टिल उद्योगमा फलाम पगाल्ने भट्टीमा विस्फोट हुँदा सात जना भारतीयसहित १५ जना घाइते भएका थिए । घाइतेमध्ये ५ जना भारतीय कामदारको उपचारकै क्रममा बिहारको पटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका ६ जना कामदारलाई उद्योग व्यवस्थापनले भदौ १० मै एम्बुलेन्समा राखेर थप उपचारका लागि वीरगन्जबाट पटना लगेको थियो ।प्रहरीका अनुसार मृत्यु हुनेमा भारत उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, ३७ वर्षीय मानस परिदा, ३० वर्षीय रामपुकार यादव, बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक रहेका छन् । पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार पटनाको एपोलो अस्पतालमा उपचाररत ३ जनाको भदौ १६ मा दुई जनाको भदौ १८ मा मृत्यु भएको जानकारी बिहीबार मात्र आएको हो ।

भारतीय ठेकेदारमार्फत उद्योग व्यवस्थापनसँग सम्झौता गरी उद्योगमा मजदुरले काम गर्दै आएका थिए । भट्टी विस्फोट प्रकरण दबाउन सुरुदेखि नै प्रयास गर्दै आएको उद्योग व्यवस्थापनले ५ जना मजदुरको मृत्युको जानकारी समेत एक हप्तापछि मात्र प्रहरी प्रशासनलाई दिएको छ ।अन्य कबाडसँगै ग्यासका पुराना सिलिन्डर गलाउँदा भट्टीमा विस्फोट भएको घाइते मजदुरले बताएका छन् ।

विस्फोट भएको भोलिपल्ट पर्सा क्षेत्र नं. १ का सांसद, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकको टोली अनुगमन गर्न उद्योग पुगेका थिए । भट्टीमा प्रयोग हुने रसायन र ग्यास लिक हुँदा विस्फोट भएको अनुगमन टोलीलाई उद्योग व्यवस्थापनले जानकारी गराएको थियो । ‘प्राविधिक समस्याकै कारण लिकेज भएको हो जस्तो लाग्छ,’ एसपी पाण्डेले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार