
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले तोकिएको समयभित्रै गुणस्तरीय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
बुधबार ललितपुरमा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको १२औँ साधारणसभामा मन्त्री भुसालले भौतिक पूर्वाधारको विकास विभिन्न निर्माणद्वारा पूरा हुने भएकाले समय र गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभएको हो । उहाँले मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका अपरिहार्य रहेको बताउनुभयो । मन्त्री भुसालले केही नीति नियमहरु निर्माण व्यवसायीको हितमा नरहेको स्वीकार गर्दै आवश्यक संशोधनको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्नुभयो ।
फरक प्रसंगमा उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त पार्ने प्रतिगमनकारी कदमलाई पराजित गर्दै अग्रगमनको बाटोमा अघि बढ्न सफल भएको जिकिर गर्नुभयो । उहाँले संघीय संसदमात्र नभएर प्रदेशका सभाहरुमा समेत अवरोधको प्रयास हुन थालेको भन्दै आफूहरु प्रतिगमनविरुद्ध निरन्तर संघर्ष गर्ने धारणा राख्नुभयो । कार्यक्रममा व्यवसायीहरुले आयोजना निर्माणका क्रममा केही नीति नियमले आफूहरुलाई बाधेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । नागरिक खबरबाट