एजेन्सी । हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्।
वरिष्ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुन: हेइटी फर्काउने निर्णयलाई ‘अमानवीय’ भन्दै एउटा आलोचनात्मक पत्र लेखेका थिए। गत सप्ताहन्त अमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो।
फिर्ता
आइतवारयता अमेरिकाले मेक्सिकोसँगको सीमानामा रहेको टेक्ससका शिविरहरूबाट १४ सयभन्दा धेरैलाई हेइटी फिर्ता गरिसकेको छ। जहाँ एउटा अन्डरपासमुनी ३७ डिग्री सेल्सिअसको धूपमा झण्डै १३ हजार आप्रवासीहरू जम्मा भएर बसेका थिए।
स्थानिय अधिकारीहरू उनीहरूलाई खानेकुरा र पर्याप्त सरसफाई सुनिश्चित गर्न सङ्घर्षरत थिए।एएफफी समाचार संस्थाका एकजना फोटोपत्रकारले यसैसाताको सुरुमा खिचेका तस्बिरहरूले अमेरिकी दासता र अस्वेत वर्णका मानिसहरूका लागि देशको ऐतिहासिक नराम्रो व्यवहारको निर्दयी झल्को देखाएको थियो।
राजिनामा
आफ्नो राजिनामापत्रमा विशेष दूत फुटेले हेइटी ‘असफल राष्ट्र’ भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवास र पैसाजस्ता सहायता उपलब्ध गराउन नसक्ने बताए। ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले भने विशेष दूत फुटेसामु ती सरोकारहरू उठाउने पर्याप्त अवसरहरू रहेको तर पदमा हुँदा उनले एकपटक पनि त्यसो नगरेको बताइन्।
फुटे जुलाई महिनामा हेइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या भएयता उक्त भूमिकामा थिए।घोडामा बसेर आप्रवासीहरूलाई लखेटेका तस्विरलाई दर्दनाक बताएकी ह्वाइटहाउसकी प्रवक्ताले अब त्यस क्षेत्रका बोर्डर एजेन्टले घोडसवार हुन नपाउने बताइन्।पछिल्लो घटनाक्रमले बाइडन प्रशासनमाथि उनको डेमोक्र्याटिक पार्टी भित्रबाटै हेइटीका आप्रवासीहरूलाई घर नफर्काई शरण दिन अनुरोधहरू आएका थिए। बीबीसीबाट