
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोक नाथ प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले पदबाट राजीनामा दिनुभएको हो ।
‘आजको मितिबाट हामी क्यानबाट अलग हुने निर्णय लिएका छौं । आजसम्मको सहयोगको लागि धन्यवाद’ प्याकुरेलले भन्नुभयो। प्याकुरेलले क्रिकेट उपलब्धिको लामो यात्रा रहेको बताउँदै आफूहरु क्यानमा नरहने बताउनुभयो । उहाँले अहिले नै आफूहरु आउने वा न आउने केही निर्णय नभएको र बाहिरै बसेर क्रिकेटको विकासका लागि काम गर्ने बताउनुभयो ।
यस्तै उहाँले पद ओगटेर बस्नेभन्दा काम गर्न अन्यलाई स्थान दिने बताउनुभयो । मंगलबार क्यान कार्यसमिति आएको दुई बर्ष पूरा भएको थियो । दुई वर्षअघि ११ मंसिरमा चतुरबहादुर चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित हुनुभएको थियो। क्यानका प्रवक्तासमेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहसँग सम्बन्ध विग्रिएको चर्चा छ । नागरिक खबरबाट