मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार विहान शोक वक्तव्य जारी गर्दै मुगु, कास्की, अछाम लगायतका ठाउँमा सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग प्रचण्डले आग्रह गर्नुभएको हो ।

साथै उहाँले सडक घटना न्यूनीकरणका लागि विशेष ध्यान पुर्याउन राज्यलाई आग्रह समेत गर्नुभएको छ । ‘सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको देखिन्छ । चाडपर्वहरूमा क्षमताभन्दा बढी यात्रुहरूको ओसारपसारले पनि यस्ता घटना बढ्न पुगेका छन्,’ शोक वक्तव्यमा उल्लेख छ ।

विजया दशमीको मुखमा देशका विभिन्न भागमा भएका सडक दुर्घटनाका खबरले मर्माहत बनाएको प्रचण्डले बताउनुभयो । ‘विजया दशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ । साथै, कास्की, अछाम लगायत दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ शोक वक्तव्यमा भनिएको छ, ‘दुर्घटनामा परी घाइते भएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

यता प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको थियो । ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ,’ देउवाले भन्नुभएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार