गाडी खरिदको माग आएपछि भएका सरकारी सवारी साधनको सूची मागेको छु : अर्थमन्त्री

काठमाडौँ । अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ गाडी खरिदको माग बढ्न थालेकाले पुराना सरकारी सवारी साधनको सूची मागेको मन्त्री शर्माले बताउनुभयो ।

समितिको मंगलबारको बैठकमा मन्त्री शर्माले भन्नुभयो, ‘सरकारी सम्पत्ति कति छ थाहा छैन । गाडी किन्ने माग आइरहन्छन् अर्थ मन्त्रालयमा । पहिला मैले भएका सरकारी गाडीको सूची मागेको छु । कति छन् नेपाल सरकारका गाडी चाहियो नि त । कतिवटा छन् अहिले ?’

सबै मन्त्रालय, संवैधानिक निकाय र विभागहरूबाट सवारी साधनको सूची माग गरिएको बताइएको छ । हाल सरकारसँग कति सवारी साधन छन् र कता कसले गुडाइरहेका छन् भन्ने तथ्यांक नरहेको मन्त्री शर्माले बताउनुभयो ।

‘कतिवटा गाडी चाहियो ? रेकर्ड चाहियो नि त ? रेकर्ड भेटिँदैन । गाडी किन्दै जाने तर कहाँ चलाइरहेको छ, थाहा नहुने । त्यो सूची चाहियो,’ मन्त्री शर्माले थपे, ‘गाडी रहेछन् झिकेर दिउँला किन किन्नपर्‍यो ? नभए आवश्यक परे किनौँला ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार