
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताउनुभएको छ ।बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताउनुभयो।
‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो ठूलो अनुदान हो, ऋण होइन।’ उहाँले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताउनुभयो। एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि उहाँको भनाइ थियो। नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने उहाँले बताउनुभयो।यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उहाँले भन्नुभयो।
अर्ली इलेक्सनु बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेकोले गठबन्धनमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने बताउनुभएको छ ।साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन प्रक्रिया अगाडि बढिरहेको पनि बताउनुभयो। महाधिवेशन सर्नेबारे सोधिएको प्रश्नमा देउवाले यसबारे आफूलाई भन्दा निर्वाचन समितिलाई थाहा हुने जवाफ दिनुभएको छ । प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताउनुभयो। तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने प्रधानमन्त्री देउवाको भनाइ थियो।सेतोपाटीबाट