
मोरङ । आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली काँग्रेस प्रदेश नम्बर –१ ले माग गरेको छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताउनुभयो। ‘गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हौ, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ’, कोइरालाले भन्नुभयो, ‘स्थगित गर्ने नगर्ने अधिकार सभामुखलाई छ ।’
कोइरालाले कस्तो गृहकार्य भन्ने प्रश्नको जवाफ भने दिनुभएन । तर कतिपयले आजको बैठकमा काँग्रेसका सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना बढेकाले त्यसलाई रोक्न बैठक स्थगित गर्न माग गरिएको आशंका गरेका छन् । रातोपाटीबाट