
जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाउनुभयो ।
चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने उहाँको भनाइ छ । ‘सभापति र पदाधिकारीले पार्टीलाई यसरी बेथितिमा राख्न मिल्छ ?’ सिंहले भन्नुभयो, ‘क्रियाशील सदस्यमा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।’
परिणामलाई आफ्नो पक्षमा पार्न पार्टी पदाधिकारीले क्रियाशील सदस्यतामा खेलबाड गरिरहेको भन्दै उनले यसले कांग्रेसलाई राम्रो नगर्ने बताउनुभयो । मंसिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्ने उहाँले बताउनुभयो । ‘के गाह्रो छ भन्या ? निर्वाचन समिति गठन भइसकेको छ । निर्वाचन समितिले क्रियाशील दिनुस् बाँकी रहेको ठाउँमा काम गर्छु भनिरहँदा पनि आलटाल गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘समितिमाथि समिति गठन गरेर ढिला गरिरहेको छ ।’
सिंहले विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने बताउनुभयो । ‘भन्नका लागि प्रजातान्त्रिक पार्टी भन्ने र अभ्यास न्यूनतम रुपमा पनि आन्तरिक नहुने ?’ उनले प्रश्न गरे । सिंहले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकोले यसलाई अब तोड्नुपर्ने बताउनुभयो ।आफू आसन्न महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने पनि उहाँले बताउनुभयो । अनलाइनखबरबाट