
उदयपुर । परराष्ट्रमन्त्री नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ । गाईघाटमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यसकारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ।’
एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताउनुभयो।उहाँले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराउनुभएको थियो।
यस आर्थिक वर्षमा रु दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको उहाँले बताउनुभयो।यस्तै त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको उहाँले बताउनुभयो। रासस