
काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताउनुभएको छ । उहाँले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको हो।
गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गर्नुभयो। केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला कुराकानीमा शाहीले भन्नुभयो, “माओवादीबाट धोका हुँदैन भन्ने विश्वासमा छु ।”
नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने बताए । “सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने ”उहाँले भन्नुभयो, “अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वभाविकै हो । उहाँहरुले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।”
गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिनुभएको थियो। विश्वासको मत लिँदै गर्दा उनले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताउनुभयो । रासस