काठमाडौँ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विभिन्न सञ्चार संस्थालाई २ करोड २५ लाख बजेट छुट्याएको छ । नियमित अन्तरक्रिया, प्रेसमिट, पेसागत क्षमता अभिवृद्धि, सामग्री खरिद, लेखन प्रोत्साहन, लोककल्याणकारी विज्ञापन र विभिन्न जिल्ला पत्रकार महासंघ भवन निर्माणका लागि उक्त रकम विनियोजन गरिएको हो ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयमार्फत पूर्वी नवलपरासी, लमजुङ, गोरखा, स्याङ्जा, पर्वत र म्याग्दी जिल्ला पत्रकार महासंघ भवन निर्माणका लागि ६० लाख रुपैयाँ विनियोजित छ । यसैगरी पत्रकार महासंघ गण्डकी प्रदेश समितिमार्फत कार्यान्वयन हुने गरी पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमका लागि भन्दै ५५ लाख रुपैयाँ छुट्याइएको छ ।
सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापनमा ३० लाख, रेडियो, टेलिभिजन कार्यक्रम उत्पादन, प्रसारण तथा अनलाइन र पत्रपत्रिकाको लेखन प्रोत्साहन शीर्षकमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । संसदीय पत्रकार मञ्चलाई क्षमता अभिवृद्धि र सामग्री खरिदका लागि १५ लाख, पत्रकार महासंघ कास्कीलाई पुस्तकालय र मिडिया सेन्टर बनाउन १५ लाख, फोनिज गण्डकीमार्फत पत्रकारको पेसागत क्षमता अभिवृद्धिका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ । यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत नागरिक समाज र सञ्चारकर्मीसँगको नियमित अन्तरक्रिया र प्रेस मिटका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले यसमा कुनै गलत मनसाय नरहेको प्रतिक्रिया दिनुभयो । हिजो प्रतिपक्षमा भएका बेला मिडियामैत्री हुनुपर्छ र चौथो अंगलाई सबल बनाउन राज्यले भूमिका निर्वाह गर्नुपर्छ भनेर आवाज उठाएको उहाँको भनाइ छ । ‘अहिले सरकारमा आएपछि केही न केही त गर्नुपर्यो भनेर रकम विनियोजन गरेका हौं,’ उहाँले भन्नुभयो । ekantipurबाट