जनता र देशलाई भुलेर गलत बाटो लागेपछि मैले एमाले त्यागेको हुँ : नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताउनुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भन्नुभयो, ‘नेकपा एमाले विदेशीको दलालीमा लाग्यो। त्यसैले पुरानो घर त्यानुपरेको हो।’

अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै थप्नुभयो, ‘न्याय र सत्यको जित अवश्य हुनेछ।’ नेपालले आफू ५२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै ठूलाठूला काम गरेको, राजाको शासन उखेलेर फालेको पनि बताउनुभयो । उहाँले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताउनुभयो । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाउनुभयो।

कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उहाँको भनाइ थियो। कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिह्न कलम लिएर जनतामाझ आएको उहाँको भनाइ थियो । उहाँले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिँचाइ र मलखादको व्यवस्था गर्ने पनि बताउनुभयो।

नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडि दौडिन नहुन कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताउनुभयो । अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताउनुभयो । उहाँले विभिन्न पार्टीको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गर्नुभएके थियो ।

अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले राष्ट्रिय सभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार