जापानमा प्रधानमन्त्री किसिदाको दल सहज बहुमततर्फ, २३३ सिटमा जित सुनिश्चित

एजेन्सी । एक महिनाअघि मात्र सत्तामा आएका जापानी प्रधानमन्त्री फुमियो किसिदाका लागि आइतबार भएको संसदीय निर्वाचन फलदायी साबित भएको छ।निर्वाचनमा प्रधानमन्त्री किसिदाको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) एक्लैले बहुमत ल्याउने भएको छ।अहिलेसम्म प्राप्त परिणामअनुसार एलडिपीले जापानको तल्लो सदनमा २३३ भन्दा बढी सिटमा आफ्नो जित सुनिश्चित गरिसकेको छ।

जापानको तल्लो सदन ४६५ सिटको छ । अहिलेसम्म जति सिटमा एलडिपीको जित सुनिश्चित भएको छ, त्यति मात्रले पनि प्रधानमन्त्री किसिदा गठबन्धन दलको सहयोगबिना नयाँ सरकार बनाउन सक्ने छन् । यही महिना लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा विजयी भएपछि ६४ वर्षीय किसिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै उनले अर्को आमनिर्वाचनको तयारी थाले ।

उनले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारी अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका थिए।उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्न आमनिर्वाचनमा आमनागरिकको सहयोग आवश्यक रहेको बताएका थिए। देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रम ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग उनले आग्रह गरेका थिए।

यसअघि चुनावी सर्वेक्षणहरूले पनि अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने नतिजा देखाएको थियो। तर सर्वेक्षणको नतिजाविपरीत किसिदाको पार्टीलाई अब गठबन्धन सरकार बनाउने दरकार पर्ने छैन।जापानमा ४६५ मध्ये २८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १७६ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन्।

किसिदा राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका थिए। उनका बुवा र हजुरबुवा सांसद थिए। जापानमा धेरै समय विदेशमन्त्री हुने व्यक्ति पनि किसिदा नै हुन्। उनी सन् २०१२ देखि २०१७ सम्म विदेशमन्त्री भएका थिए।किसिदा हिरोसिमाका बासिन्दा हुन्। उनले नै सन् २०१६ मा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको हिरोसिमा भ्रमण तय गरेका थिए। बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार