
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याउने र काँग्रेसको एकल सरकार बन्ने बताएका छन् । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनेछ र काँग्रेसले नै सरकार निर्माण गर्नेछ ।”
अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उहाँको दाबी थियो । नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरुको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताउनुभयो ।
सहमहामन्त्री डा.महतले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।” उहाँले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारी सँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।”
डा.महतले हाल देशको सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले समाधन गरोस् भन्ने आफूले चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौँ ।”
उहाँले केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्व नदिएको आरोप पनि लगाउनुभयो । पाथीभरालाई धार्मिक पर्यटकका रुपमा विकास गर्नु आवश्यक रहेको समेत उहाँले बताउनुभयो । तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । रासस