तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ। विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन्।

तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ। ‘इस्लामिक इमिरेट्स (तालिवान) को आग्रह छ कि, सबै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अब उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नुहोला, यो अनुरोधलाई वेवास्ता गरेमा कारबाही हुनेछ,’ निर्देशनात्मक सूचनामा भनिएको छ।

तालिवान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र गम्भीरतापूर्वक लिएको जानकारी दिए। अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यसैगरी पाकिस्तानजस्ता सिमाना जोडिएका मुलुकका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ। सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ। सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिवन्ध लगाएपछि विदेशी मुद्रा रहेकाहरूलाई मर्का पर्ने भएको छ।

यसले केही समय उपभोक्ताहरुलाई अफ्ट्यारो पनि पार्ने भएको छ। तत्कालिन तालिवान विद्रोहीले सत्ता कब्जा गरेर नयाँ सरकार बनाएपछि उनीहरूलाई धेरै विदेशी सहयोग रोकिएका छन्। अन्तर्राष्ट्रिय समुदायले पनि शङ्काको दृष्टिले हेरेको पाइएको छ। तर तालिवान अधिकारीहरूले भने सहयोगका लागि अपिल गरिरहेका छन्। उनीहरूले आफुहरू अघिल्लो पटक सरकार सञ्चालन गर्दाभन्दा लचक हुने दावी पनि गरेका छन्। रासस/एएनआई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार