कांग्रेसमा पुस्तान्तरण हैन, रुपान्तरण जरुरी छ : पौडेल

सिन्धुली । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताउनुभएको छ । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताउनुभएको हो।

कांग्रेस सिन्धुली सभापति उज्ज्वल बरालको आमाको निधनमा समवेदना प्रकट गर्न हेलिकप्टरबाट सोमबार कमलामाइ नगरपालिका रानीवास जानुभएका पौडेलले कांग्रेसलाइ नयाँ बाटोमा नयाँ उर्जा दिएर आफू सफल बनाउने दाबी गर्नुभयो । महाधिवेशन हुने पक्का भएको भन्दै पौडेलले सभापतिको लागि सरसल्लाह भैरहेको बताउनुभयो ।

निर्वाचनका बेला केही साथीहरुले अब आफ्नो पालो भन्दै हिँडेको कुरालाइ आफूले महत्व नदिएको पौडेलको जिकिर थियो । साताअघि रानीवासमै नेता प्रकाशमान सिंहले ‘रामचन्द्र पौडेल र शेरबहादुर देउवा मिति नाघेको औषधि भएकाले अब सभापतिमा मेरो पालो ‘ भएको बताउनुभएको थियो । ‘चुनावका बेला त्यस्ता लटरपटर केही कुरा आउँछन् । म त्यस्ता कुरालाई महत्व दिन्‍नँ । माइन्ड गर्दिँन,’ पौडेलले भन्नुभयो ।

आगामी चुनावमा गठबन्धन कायम रहनसक्ने प्रति संकेत गर्दै पोडेलले संघीयता र समानुपातिकले गर्दा दलहरुलाई बहुमत ल्याउन गार्‍हो पर्ने भएकाले परिस्थिती अनुसार चल्ने बताउनुभयो । पौडेलले कांग्रेसले मात्र राष्ट्र र लोकतन्त्रलाई जोगाउन सक्ने बताउँदै अन्य सबै दलहरु अवसरवादी भएको बताउनुभयो । कांग्रेसलाई सत्ताभन्दा पनि व्यवस्थाको चिन्ता रहेको पौडेलको कथन थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार