प्रदेश १ का मुख्यमन्‍त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने

मोरङ । पाँचदलीय गठबन्धनको समर्थनमा नियुक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई आइतबार सूचना दिनुभएको छ । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक ३० को प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको हो।

प्रदेशसभा नियमावलीको १२८ (१) मा संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्रमा प्रदेशसभाबाट विश्वासको मतका लागि पहिले प्रस्ताव पेसको सूचना सचिवलाई दिनुपर्ने उल्लेख छ । नियम १२८ (२) मा उपनियम (१) बमोजिम दिइने सूचना प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिनअगावै दिनुपर्ने उल्लेख छ । प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोखरेलले मुख्यमन्त्री राईले विश्वासको मतका लागि सूचना दर्ता गराएको बताउनुभयो ।

संविधानको धारा १६८ (४) मा धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा १६८ (३) मा उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ३० गते मंगलबार दिउँसो प्रदेशसभा बैठक बोलाउनुभएको छ ।

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् । एमालेका ४१ मध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँचदलीय गठबन्धनको ५० जना सांसद रहेकाले मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न कठिनाइ नहुने अवस्था देखिएको छ ।

कांग्रेसका नेता राजीव कोइरालाले गठबन्धन दलका सबै प्रदेश सांसदले विश्वासको मत दिएर प्रदेश सरकारको कामलाई तीव्रता दिइने बताउनुभयो । मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्न समस्या नभएकाले प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दल राप्रपालाई पनि विश्वासको मत दिएर सहमतिमा अघि बढ्न आग्रह गर्ने बताउनुभयो। ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार