भारतद्वारा सातामा ५६ उडानको प्रस्ताव

काठमाडौँ । भारतले कोरोना महामारीका कारण नेपाल र भारतबीच भइरहेको १४ उडानलाई बढाएर सातामा ५६ सम्म पुर्‍याउन सकिने प्रस्ताव गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले हाल कायम सीमित उडानको एअर बबलको व्यवस्था हटाएर सातामा ५६ उडाउने पुर्‍याउन प्रस्ताव गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेका अनुसार, दुई देशका पर्यटनमन्त्री भेट भएको दुई दिनपछि आइतबार दूतावासले मन्त्रालयलाई पत्र पठाउँदै सातामा नेपाल–भारतबीच दुवै देशका वायुसेवाले २८/२८ उडान गर्न सक्ने प्रस्ताव पठाएको छ । शुक्रबारमात्रै पर्यटनमन्त्री प्रेमबहादुर आले दिल्ली पुगेर भारतीय समकक्षी ज्योतिरादित्य सिंधियालाई भेटी नेपाल भारत उडान खुला गर्न अनुरोध गरेका थिए । भेटमा मन्त्री सिंधियाले उडान संख्या थप्न मद्दत गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाल र भारतबीच एक वर्षयता एयर बबलअन्तर्गत काठमाडौं र दिल्लीका लागिमात्रै उडान हुँदै आएको छ । हाल दुवै देशका ध्वजावाहक वायुसेवाले दैनिक एक–एक वटा उडान गर्दै आएका छन् । यी उडानमा दुई देशका नागरिक र कूटनीतिज्ञबाहेक तेस्रो मुलुकका नागरिकलाई उड्न रोक लगाइएको छ । पर्यटनमन्त्री आलेले भारतको प्रस्तावअनुसार अब दिल्लीबाहेक मुम्बई, बैङ्लोर, कोलकाता र बनारसमा पनि उडान सञ्चालन गर्ने योजना नेपालको रहेको बताए ।

भारतले ०७६ चैतपछि रोकिएका काठमाडौं–मुम्बई, काठमाडौं–बैङ्लोर, काठमाडौं–कोलकाता, काठमाडौं–बनारस उडान हालसम्म पनि सञ्चालन गराएको छैन । ‘भारतको प्रस्तावमा छलफल गरेर चाँडै परराष्ट्र मन्त्रालयमार्फत नेपालको धारणा पठाउने छौं,’ सहसचिव लामिछानेले भने ।

नेपालले भारतसहित ४० वटा मुलुकसँग दोहोरो उडानको सम्झौता गरेको छ । भारतसँग सातामा ३० हजार सिट उडान गर्ने सम्झौता छ । नेपालसँग भारतका दिल्लीबाहेक चेन्नई, हैदरावाद, देहरादुन, बागडौरा, गोरखपुरलगायत २१ वटा सहरमा उडान अनुमति छ । तर कोरोना महामारीपछि नेपाल र भारतबीच करिब ९ महिना उडान रोकिएको थियो । ०७७ मंसिरपछि एयर बबलअन्तर्गत सीमित उडान खुला गरिएको थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार