
काठमाडौँ । कांग्रेस महामन्त्री शशांक कोइरालाले आसन्न महाधिवेशनमा सभापतिमा देउवालाई पराजित गर्न नेता कृष्णप्रसाद सिटौलासहित संस्थापनइत्तर समूहको एकल उम्मेदवारी हुनुपर्ने बताउनुभएको छ ।
‘रामचन्द्रजी त एकचोटि लडिसक्नुभएको छ । अब सिटौलाजीलाई पनि हाम्रो टिममै तान्नुपर्यो । किनभने सिटौलाजीसँग पनि धेरै मान्छेहरु छन् । उहाँसहित हामी सबैको टिमबाट एउटै मान्छेले निर्वाचन लड्यो भने देउवाजी हामीसँग हार्नुहुन्छ,’ कोइरालाले एक कार्यक्रममा भन्नुभएको छ । उहाँले सभापतिका आकांक्षी रहेका नेता प्रकाशमान सिंहलाई काठमाडौंका नेता कार्यकर्ताले नचिन्ने दाबी गर्नुभयो । ‘प्रकाशमान सिंहको बारेमा भन्दाखेरि नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ ।
काठमाडौं बाहिर निक्लिनेवित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन्,’ कोइरालाले अघि भन्नुभएको छ , ‘हुन त उहाँ पार्टीको महामन्त्री पनि हुनुभयो । तर, साथीहरुसँग उहाँको आत्मीयता म देख्दिनँ ।’महामन्त्री कोइरालाले दाजु शेखर कोइरालाले पनि टिमबाट साझा उम्मेदवार बन्नका लागि अरु नेताहरुलाई मिलाउनुपर्ने बताउनुभयो । ‘शेखर दाई सभापतिका पनि लागिरहनुभएको छ, भिडिरहनुभएको छ । उहाँ र म मिल्नुपर्छ भन्ने साथीहरूको कुरा छ । हामीहरू मिलेर जानुपर्छ भन्ने भावनालाई सम्मान गर्छु । अहिले कुरा भएको छैन । मलाई त उहाँले कन्भिन्स गरिहाल्नुहुन्छ । तर, उहाँलाई सभापति हुनु छ भने अरुलाई कन्भिन्स गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभएको छ। ekantipurबाट