
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन्। कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ।
प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए । प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपनि १३ जना सांसद भने बैठकमा उपस्थित नै भएनन् । त्यसमध्ये एक सांसद गुलेफुन खातुन किर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन् ।
एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा राई १६ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । उनी ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।