सवारी दुर्घटनामा गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन

काठमाडौँ । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन भएको छ।उपचारको क्रममा बिहीबार बिहान उनको राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले जानकारी दिनुभयो।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ का २७ वर्षीय डाक्टर खरेल उक्त सामुदायिक अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत थिए।पोखरेलका अनुसार डाक्टर खरेल चढेको मोटरसाइकल भाइटीकाको राति दुर्घटनामा परेको थियो।

दिउँसो अस्पतालमा आएर उनी ४–५ बजेतिर दिदी-बहिनीबाट टीका लगाउन घर गएका थिए। ‘टीका लगाएर साथीभाइसँग बाहिर घुम्न जाँदा मोटरसाइकल दुर्घटना परेछ। परिवारले त राति साढे ३ बजेतिर मात्र थाहा पाएका थिए,’ पोखरेलले भन्नुभयो।खरेल मोटरसाइकलमा पछाडि बसेका थिए। मोटरसाइकल चालकको अवस्था भने सामान्य छ।

टाउकोमा गम्भीर चोट लागेका खरेललाई सुरूमा उपचारका लागि बुटवलको क्रिमसन अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको मेडीसिटी अस्पताल ल्याइएको थियो।मेडीसिटीबाट उनलाई ट्रमा सेन्टर सारिएको थियो। उनको उपचारका लागि सहयोगसमेत जुटाइएको थियो।

सामान्य परिवारका खरेल कोरोनाभाइरसको महामारी सुरू भएपछि कपिलवस्तु सामुदायिक अस्पतालमा काम गर्न थालेका थिए। ‘नेपालबाटै एमबिसिसी गर्नुभएका खरेल आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर अन्तबाट अफर आउँदा पनि यही अस्पतालमा काम गरिरहनुभएको थियो,’ पोखरेलले भन्नुभयो, ‘निकै लगनशील र मेहनती हुनुहुन्थ्यो। के गर्नु यस्तो भइहाल्यो ! ’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार