पार्टीको ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्छ : डा. महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” र “ख”का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

काँग्रेसको काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” को प्रदेश सभा अधिवेशन विशाल मिलन केन्द्रमा भैरहेको छ भने प्रदेश “ख” को अधिवेशन अनुप्रस्थ पार्टी प्यालेसमा भैरहेको छ । सहमहामन्त्री डा.महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भन्नुभयो, “यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भैरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसँग गर्नुपर्दछ ।

तसर्थ निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरु लगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्दछ ।”सहमहामन्त्री डा.महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गर्दै भन्नुभयो, “निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरूबीच रहेको सद्भाव र एकता पूर्ववत रहनु पर्दछ । अझ सौहार्दपुर्ण र घनिष्ठ बन्नुपर्दछ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस् ।”

उहाँले १४ औं महाधिवेशनका क्रममा नेपाली काँग्रेसका क्रियाशील सदस्य, भातृसंगठनका सदस्य, शुभेच्छुक,समर्थक र मतदाताहरुमा देखिएको उत्साहलाई पार्टीको उर्जाको रुपमा लिएको बताउँदै यसले आफूलाई ठूलो प्रेरणा दिएको पनि बताउनुभयो । नेपाली काँग्रेसको १४ महाधिवेशनको क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ ।

महाधिवेशनको क्रममा मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । त्यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । केही हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भैसकेको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार