हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा

काठमाडौँ । पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुट्नुभएको छ । सोही विषयमा छलफल गर्न उहाँ दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव जित्नुभएको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि उहाँ राजनीतिक रूपमा पनि ओलीकै साथमा रहने अड्कलबाजी भएको थियो । यद्यपि उहाँ एमालेमा प्रवेश गर्नुभएन् ।

पछिल्लो समय उहाँ महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आबद्ध हुने चर्चा पनि चलेको छ । तर, सो पार्टीका अन्य केही नेता र त्रिपाठीबीच व्यक्तित्वको टकराव भएका कारण त्यति सकारात्मक माहौल बन्न नसकेको स्रोत बताउँछ । लोसपामा राजेन्द्र महतो पार्टीको वरीयताक्रममा दोस्रो स्थानमा हुनुहुन्छ। यस्तै, शरतसिंह भण्डारी तेस्रो, अनिलकुमार झा चौथो स्थानमा छन् । त्रिपाठी आफूलाई राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताभन्दा सिनियर मान्छन् । उहाँ कुनै पनि हालतमा उनीहरूभन्दा तलको पोजिसनमा बस्न चाहाँनुहुन्न ।

स्वतन्त्र राजनीतिक समूहका एक नेताले भन्नुभयो, ‘त्रिपाठीजी लोसपामा जानुहुन्न, उहाँले आफ्नै नेतृत्वमा पार्टी गठन गर्दै हुनुहुन्छ, पार्टी गठन गरिसकेपछि कहाँ जाने, के गर्ने भन्ने तय हुन्छ ।’ यता लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले पनि त्रिपाठी लोसपामा प्रवेश गर्ने विषयमा चर्चा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्रिपाठीजी लोसपामा आउनेबारे कुनै छलफल भएको छैन, यदि उहाँ आउन चाहे पार्टीले स्वागत गर्छ तर तत्काल त्यस्तो केही कुराकानी भएको छैन ।’स्रोतका अनुसार लोसपामा महन्थ ठाकुरपछिको पोजिसन पाएमात्र त्रिपाठी लोसपामा जान सक्नुहुन्छ। तर राजेन्द्र महतोलगायतका नेताहरू त्रिपाठीलाई दोस्रो वरीयतामा राख्न चाहँदैनन् । त्यसैले पनि उहाँ लोसपामा सामेल हुने विषय पेचिलो बनेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार त्रिपाठी नयाँ पार्टी गठन गरेर मधेसका विभिन्न असन्तुष्ट शक्ति तथा समूहलाई एकीकृत गर्ने योजनामा जुट्नुभएको छ । जसपा नेपालसँग असन्तुष्ट रहेका नेताहरू, लोसपामा असन्तुष्ट रहेका नेताहरूसहित विभिन्न दलमा असन्तुष्टिका बाबजुद विकल्प नभएका कारण गुम्सिएर बसेका नेता तथा कार्यकर्तालाई समेटेर मधेसमा एउटा वैकल्पिक शक्ति बनाउने अभियानमा त्रिपाठी जुटेको स्रोत बताउँछ ।आफ्नो सोही अभियानका सन्दर्भमा छलफलका लागि त्रिपाठी भारत गएको बताइएको छ । उहाँ दिल्ली पुग्ने बित्तिकै मंसिर २ गते भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृङ्गलासँग भेट गर्नुभएको थियो । त्यसपछि उहाँले भारतीय जनता पार्टीका नेताहरूसँग पनि भेट गर्नुभएको छ ।

उहाँ काठमाडौँ फर्केपछि नयाँ पार्टीको घोषणा गर्ने तयारी रहेको उहाँ निकट एक नेताले बताउनुभयो । ‘मङ्सिरभित्र नयाँ पार्टी घोषणा हुन्छ, त्यसपछि गठबन्धन बनाउने कि एकीकरण गर्ने भन्नेबारे छलफल हुन्छ,’ ती नेताले भन्नुभयो । स्वतन्त्र राजनीतिक समूहका सदस्य एवं प्रतिनिधिसभा सदस्य वृजेश गुप्ता भने नयाँ पार्टी गठनको बारेमा आफूलाई जानकारी नभएको बताउँउनुभहुन्छ । उहाँले भन्नुभयो, ‘यसबारे मलाई केही थाहा छैन, त्रिपाठीजी इण्डिया जानु भएको छ, फर्केपछि उहाँलाई नै सोध्नु होला ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार