
बेनी । सातौं अधिवेशनबाट निर्वाचित नेपाली काँग्रेस म्याग्दीको पहिलो पुर्ण बैठकले कोषाध्यक्षमा अमृतमान शेरचनलाई मनोनित गरेको छ । नवनिर्वाचित सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को अध्यक्षतामा शनिबार बसेको पहिलो पुर्ण बैठकले जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति सदस्यमा लोकप्रिय मत ४ सय ५४ मत लिएर विजयी हुनुभएका शेरचनलाई जिल्ला कोषाध्यक्षमा मनोनित गरिएको सचिव भरत रकालले बताउनुभयो ।
उहाँँले जिल्ला कार्यसमिति सदस्य सहित अन्य मनोनित थप छलफल गरी अर्को बैठकबाट गरिनेछ ।अर्का सचिव हिरबहादुर पुनका अनुसार बैठकले अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत पार्टीभित्रका जनबर्गिय संगठन, शुभचिन्तक लगायतलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
जिल्ला कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनका क्रममा विभिन्न पदमा पराजित भएकाहरुलाई समेत पार्टीमा हुने सक्रियतामा कुनै कमी हुन नदिने,प्राविधिक रुपले छुट्न गएका तर पार्टी संगठनलाई आवश्यक साथै लामो समयदेखि कांग्रेसमा रहेर पार्टी संगठन विस्तारमा क्रियाशिल रहेकासँग सल्लाह गरेर जिम्मेबारी दिने सभापति गर्बुजाले बताउनुभयो ।
कांग्रेसले पुरानो कार्यसमितिलाई विदाई तथा नयाँ कार्यसमिति स्वागत सहितको अर्को कार्यक्रम समेत तय गरेको सचिव पुनले जानकारी दिनुभयो । पार्टी संगठन सुढृढ एवं मजबुत बनाउनका लागि जिल्लाभित्रका सम्पूर्ण स्थानीय तहमा प्रशिक्षणका साथै आगामी दिनमा बैठक समेत भुगोल अनुसार राख्ने जनाइएको छ ।