
चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आइतबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताउनुभएको हो।
‘यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ,’ उहाँले भन्नुभयो। देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताउनुभयो । अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको भनाइ राख्नुभएको थियो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उहाँले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो।’थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु। मैले उहाँहरूलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु,’ उहाँले भन्नुभयो। रासस