
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेलगायतलाई आइतबार मन्त्रालयमा बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिनुभएको हो ।
शिक्षा मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय कात्तिक १७ गते गर्नुभएको थियो।भर्ना प्रक्रिया सुरु गर्न निर्णय गरे पनि सिटिइभिटीले सूचना प्रकाशन नगरेपछि मन्त्रीले मन्त्रालयमै बोलाएर तत्काल सूचना प्रकाशन गरी भर्ना खोल्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार ऐन र कानुन बमोजिम तत्काल भर्ना खोल्न निर्देशन शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । “चिकित्सा शिक्षा र सिटीभिटीका उपाध्यक्षलाई राखेर ऐन कानुन र नियमानुसार तत्काल नर्सिङको भर्नाको सूचना निकाल्न निर्देशन दिएको छु” मन्त्रीले भन्नुभयो ।मन्त्रीको निर्देशनपछि नर्सिङ भर्नाको सूचना निस्कने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै पढनपाठन गराउन मापदण्ड पूरा गर्नुभएको छ। ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज छन् । सइईलगत्तै भर्ना खोल्नुपर्ने डिप्लोमा कार्यक्रमको नर्सिङबाहेकका अन्य कार्यक्रमको भर्ना भए पनि नर्सिङ कार्यक्रम लामो समयदेखि अन्योलमा रहँदै आएको थियो । परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेका अनुसार मंगलबारसम्म सूचना प्रकाशन हुने जानकारी दिनुभयो । नागरिक खबरबाट