
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विद्रोहको झन्डा उठाउन माओवादी तयार रहेको जनतामा पुर्याउनुपर्ने बताउनुभएको छ । चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तनको वाहक माओवादी भएको बताउनुभएको हो ।
“अहिले पनि प्रतिक्रान्तिको सपना देख्छन् भने हामी फेरि विद्रोहको झनडा उठाउन तयार छौँ भनेर जनतामाझ भन्नुपर्यो,” उहाँले भन्नुभयो । प्रचण्डले आफ्नै आत्मसमीक्षाबाट सुरु गर्यो भने पार्टीलाई फेरि जाति विशेष, विचार विशेष पार्टी बनाउन सकिने दाबी गर्नुभयो । उहाँले प्रतिगमनकारीलाई परास्त गरेपछि फेरि जनतामा आशा र भरोसा पैदा हुन थालेको बताउनुभयो ।
उहाँले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“तीनै तहको एकैचोटी गर्ने प्रस्ताव मैले गरेको छु । नभए संघको पहिले, वा संघ र प्रदेश सँगसँगै र स्थानीय तह त्यसपछि गर्ने भन्ने प्रस्ताव पनि गरेको छु । निर्वाचन आयोगसँग सल्लाहपछि केही दिनमा नै टुंगो लाग्छ ।”
फरक प्रसंगमा उहाँले आफू र आफ्नो पार्टीलाई सिध्याउन केपी ओलीले चितवनमा महाधिवेशन गर्न लागेको भए पनि आफूले निम्ता दिन आउनेलाई ‘चितवनलाई के विधि माया गर्नुभएको’ भनेर जबाफ दिएको सुनाउनुभयो । “चितवनमा ल्याउनु (महाधिवेशन) को मक्सद माओवादी सिध्याउनु, तर मैले भनेको छु– केपीजीलाई धन्यवाद भनेको छु,” प्रचण्डले भन्नुभयो,
“यो विषयमा चितवनमा ल्याइदिनुभयो, यहाँका जनतालाई फाइदा हुने भयो, व्यवसायीले अलिकता भए पनि नाफा कमाउन पाउने भए, नेपालमा चितवन नै हो मुख्य भनेर बताइदिनुभयो भनेर भन्द्याछु मैले ।”उहाँले अगाडि भन्नुभयो,“अस्ति मलाई निम्ता गर्न आउनुभयो फेरि, वक्ताका रुपमा भन्नुभाछ, म अहिले त्योबारे बोल्दिनँ पार्टीमा सल्लाह गर्नुपर्छ भनेँ । वक्ताको रुपमा चिठी लिएर आउनुभो एक जना लिडर, कति धेरै माया गर्या हो चितवनलाई ! यति धेरै माया नगर्नु है माया बोक्नै नसक्ने हुन लाग्यो भन्याछु मैले ।” नागरिक खबरबाट