अर्थमन्त्री शर्माको आश्वासनले रंगशाला बन्ने आशा बढायो : धुर्मुस

चितवन । अर्थमन्त्री जनार्दन शर्माले रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने बताएपछि फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले रंगशाला निर्माण हुने आशा बढेको बताउनुभएको छ ।

अर्थ र युवा तथा खेलकुद मन्त्रीसँग रंगशाला निर्माणको विषयमा पटक–पटक सकारात्मक कुराकानी भएको धुर्मुसले बताउनुभयो।‘उहाँहरु दुबै जना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्नुपर्छ भन्नेमा सकरात्मक हुनुहुन्थ्यो, अर्थमन्त्रीले निरास नहुनु सहयोग गर्छु भनेर सार्वजनिकरुपमै बोल्नुभएको सुन्दा खुसी लाग्यो,’ उहाँले भन्नुभयो, ‘यसले रंगशाला निर्माणको काम फेरि अघि बढ्नेमा आशावादी बनाएको छ।’

कलाकारद्वय धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाईमा फाउण्डेशनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ। तर निर्माणका क्रममा करिब १७ करोड ऋण लागेपछि साउन १५ देखि निर्माणको काम रोकिएको थियो।फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माणका लागि गरिएको महायज्ञमा बोलकबोल गरिएको करोडौं रुपैयाँ नउठेको र निर्माण सामग्री किन्दाको उधारो रकम तिर्न नसक्दा काम रोक्न बाध्य भएको बताउँदै आउनुभएको थियो।

उहाँले रंगशाला निर्माणमा सरकारको सहयोग आवश्यक भएको भन्दै अभिभावकत्व ग्रहण गरिदिन आग्रह गर्नुभएको थियो। भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले रंगशाला निर्माणमा सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले धुर्मुसलाई निराश नभई अघि बढ्न आग्रहसमेत गर्नुभएको थियो।उहाँले कलाकारले अघि बढाएका महत्वपूर्ण योजना रंगशाला निर्माणलाई पूर्णता दिइने बताउनुभएको थियो ।

आर्थिक अभावले रंगशाला निर्माण रोकिएपछि धुर्मुसले अर्थमन्त्रीलाई भेटेर सहयोग गर्न आग्रह गर्नुभएको थियो। ‘त्यतिखेर खेलकूद मन्त्रायल खालि थियो, मन्त्री नियुक्त भएपछि हामीले उहाँलाई भेट्यौं। उहाँ असाध्यै सकरात्मक देखिनु भयो,’ धुर्मुसले भन्नुभयो, ‘रंगशाला निर्माणका लागि सरकारबाट आर्थिक सहयोग हुनेमा हामी आशावादी छौं।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार