
काठमाडौँ । प्रदेश २ सरकारको मन्त्रीबाट बर्खास्त गरिएका जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामनरेश रायले आफूलाई अपमानित गरिएको बताउनुभएको छ । जसपा नेपालको जारी कार्यकारिणी समितिको बैठकमा रायले यस्तो गुनासो गर्नुभएको हो ।
बैठकमा सहभागी एक कार्यकारिणी सदस्यका अनुसार रायले मन्त्रीबाट हटाउने निर्णय मुख्यमन्त्री लालबाबु राउतले मनोमानी ढङ्गबाट गरेको दाबी गर्नुभएको थियो । मन्त्री हटाउने विषयमा पार्टीबाट आधिकारिक निर्णय हुनुपर्नेमा त्यसो नभएको रायको भनाइ थियो । ‘मन्त्री हटाउने अधिकार मुख्यमन्त्रीको हो तर त्यसो भन्दैमा बिना आधार जतिखेर मन लाग्छ त्यतिखेर हटाउन मिल्दैन,’ बैठकमा रायले राखेको भनाइ उद्धृत गर्दै ती नेताले भन्नुभयो, ‘म पार्टीको कार्यकारिणी समिति सदस्य हुँ, त्यसको पनि ख्याल गरिएन, त्यसैले मैले निकै अपमानित महसुस गरेको छु ।’
उनले बैठकमा मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने धारणा राखेको पनि ती नेताले रातोपाटीलाई बताउनुभयो । प्रदेश २ सरकार भ्रष्टाचारको आरोपले घेरिएको र मुख्यमन्त्री कार्यालयमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको भन्दै अनुसन्धानलाई सघाउन पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो ।यस विषयमा बुझ्न नेता रामनरेश रायसँग सम्पर्क गर्दा उहाँले बैठकमा राखेका भनाइबारे खुलाउन चाहनुभयो । ‘मैले आफ्नो कुरा पार्टीमा राखिसकेको छु,’ उहाँले भन्नुभयो, ‘यसबारे मैले थप केही भन्न जरुरी छैन ।’
प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादीलाई सहभागी गराउने क्रममा मुख्यमन्त्री राउतले रामनरेश रायसँग राजीनामा माग गर्नुभएको थियो । तर रायले राजीनामा नदिएपछि मुख्यमन्त्रीले उहाँलाई पदबाट हटाउनुभएको थियो। प्रदेश २ सरकारमा रामनरेश राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनुहुन्थ्यो। उहाँको ठाउँमा हाल नेकपा एकीकृत समाजवादी पार्टीका शत्रुधन महतोले जिम्मेवारी सम्हाल्नुभएको छ ।ratopati