
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् ।
पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो । प्रदेश २ सरकारको मन्त्रीबाट केही साता अघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो गरे ।बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी श्रोतको दाबी छ । उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् ।
बैठकमा नेताहरुले अध्यक्ष यादव पार्टीभित्र एक पक्षीय रुपमा अगाडि बढ्न थालेको भन्दै आलोचना गरेको पार्टी श्रोतको दाबी छ । श्रोतका अनुसार पार्टीभित्र विधि तथा पद्धतिको मजाक उडाइएको नेताहरुको आरोप थियो ।बैठकमा हिसिला यमी, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा संस्थागत निर्णयबिना अगाडि बढ्ने परिपाटीको विकास हुँदै जानु पार्टीकै भविष्यका लागि घातक हुने बताए ।
जसपा नेतृ हिसिला यमीले पार्टीमा विधि अनुशरणको अभाव देखिएको भन्दै प्रदेश सरकारबाट मन्त्री हटाउने कार्य स्वेच्छाचारिकताको उदाहरण भएको बताइन् ।बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेको एक नेताले बताए । बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय समेत गरेको छ । कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पु¥याउन संख्या थप गर्न लागिएको हो ।
कार्यकारिणी समितिमा १६ जना थप गर्नुपर्ने भए पनि हाललाई १२ जनामात्र थप गर्ने निर्णय भएको एक नेताले बताए । बैठकमा पूर्वमन्त्री राजकिशोर यादव, मुख्यमन्त्री लालबाबु राउत, नवराज सुवेदी, गंगा श्रेष्ठ, अमृता अग्रहरि, गजाधर यादव लगायतले आ–आफ्ना मन्तव्य राखेका थिए । जसपाको कार्यकारिणी समितिको बैठक बुधबार समेत जारी छ । रातोपाटीबाट