एक तिहाइ युवा चयन गर्न ‘लबिइङ’

काठमाडौँ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको विषय उठ्ने भएको छ । हाल केन्द्रीय नेतृत्वमा रहेकाहरूले सहमतिका आधारमा नेतृत्वको व्यवस्थापन हुनुपर्ने धारणा राखिरहेका बेला युवा प्रतिनिधिले पुस्तान्तरणका लागि ‘लबिइङ’ थालेका छन् । उनीहरूले संगठित रूपमै नेताहरूलाई भेट्दै केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाइ अर्थात् ७५ जना सदस्य युवा हुनुपर्नेमा जोड दिइरहेका छन् ।

अनुभवी, कामकाजी र सम्भावना बोकेको तीनै थरीको संयोजन नेतृत्वमा हुनुपर्ने युवाको माग छ । उनीहरूले चार कार्यकाल केन्द्रीय सदस्य भएका नेताले पदाधिकारी वा केन्द्रीय सल्लाहकार परिषद्को जिम्मेवारीमा जानुपर्ने धारणा राखेका छन् । ‘पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटीसहित सबै क्षेत्रमा एक तिहाइ प्रतिनिधित्व युवाको हुनुपर्छ भन्ने धारणा हो,’ अभियानमा सहभागी केसीले भन्नुभयो ।

उहाँले भूगोलतर्फ निर्वाचित हुने केन्द्रीय सदस्यहरूको इकाई प्रदेश नभई जिल्लाबाट हुनुपर्ने पनि बताउनुभयो । एमालेले भूगोलतर्फ तीन वटा निर्वाचन इकाई बनाएको छ । जसमा प्रत्येक प्रदेशबाट २ महिलासहित ६ जना निर्वाचित हुन्छन् । उपत्यका विशेषबाट १ महिलासहित २ जना र सम्पर्क मञ्चबाट १ महिलासहित २ जना गरी भूगोलतर्फ ४६ केन्द्रीय सदस्य छानिन्छन् ।

युवा संघका पूर्वउपाध्यक्ष केसीले यस अभियानमा ७७ वटा जिल्लाका पूर्वविद्यार्थी तथा युवा पृष्ठभूमिका नेता सहभागी रहेको बताउनुभयो । ‘यस अभियानमा ४ सयभन्दा बढी प्रतिनिधि जोडिइसक्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘सकारात्मक दबाब चलाइरहेका छौं ।’ अभियानमा कर्णाली प्रदेशका योगेश शाही, सुदूरपश्चिमका दीपकप्रकाश भट्ट, प्रदेश १ का शिव गुरुङ र राजकुमार बस्नेत, प्रदेश २ बाट रञ्जना सरकार, पूर्वविद्यार्थीबाट महेश बर्तौला र शैलेश लामा, गण्डकीबाट रश्मि आचार्य, लुम्बिनीका सूर्य ढकाल र जाजरकोटका सीपी घर्तीसहितका नेता संलग्न छन् ।

अभियानमा सहभागी आचार्यले यसपटक वडा, पालिका कमिटीको नेतृत्वमा मात्रै नभएर प्रतिनिधि छनोटमा पनि पुस्तान्तरण भएकाले केन्द्रमा त्यसको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । ‘नवौं महाधिवेशनयता पार्टी सदस्यको संख्या तेब्बरले वृद्धि भएको छ । थपिएका अधिकांश युवा छन्,’ उहाँले भन्नुभयो । नवौं महाधिवेशनका बेला एमालेको संगठित सदस्य संख्या २ लाख ६६ हजार थियो भने अहिले ८ लाख ५५ हजार पुगेको छ ।

एमालेले कार्यकारी पदका लागि ७० वर्षे उमेर हदको व्यवस्था गरेको भए पनि त्यसअघि नै युवा पुस्तालाई नेतृत्वमा ल्याउन चारपटक केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका नेताले युवालाई ठाउँ दिनुपर्ने धारणा अभियानमा रहेकाहरूको छ । ‘निर्वाचन जाने हो भने नयाँ पुस्ता छानिएर आउन सक्ने अवस्था छ । सहमतिमा नेतृत्वमा चयन गर्ने हो भने पनि एक तिहाइ युवालाई ल्याउनुपर्छ,’ आचार्यले भन्नुभयो । एमालेको सत्तरी वर्षे प्रावधानका कारण यसपटक अमृत बोहरा, सत्यनारायण मण्डल, केशव बडालसहितका नेता कार्यकारी पदबाट बिदा हुँदै छन् ।

२०४६ अघि, २०४६ पछि र २०६२–०६३ सालपछिको पुस्ताबीच एक–एक तिहाइ रूपमा प्रतिनिधित्व हुनुपर्ने युवाको धारणा छ । नुवाकोटकी महाधिवेशन प्रतिनिधि उषाकिरण तिमल्सेनाले पार्टीभित्र पुस्तान्तरणको पनि माग भइरहेको बताउनुभयो। ‘पहिलेको पुस्ताले डेलिभरी गरेन भनेर नयाँ पुस्ताको कुरा उठेको हो । त्यसले समाजको रूपान्तरण गर्नुको साटो आफ्नो मात्रै रूपान्तरण गर्‍यो,’ तिमल्सेनाले भन्नुभयो, ‘नयाँ पुस्ता आउँदा केही गर्छ कि भन्ने अपेक्षा पनि हुन्छ । तर संकल्प गरेर नयाँ पुस्ता आएन भने त्यसले पनि रूपान्तरण गर्न सक्दैन ।’

तिमल्सेनाले पार्टीको तीन पुस्ताको कुरा गर्दा दोस्रो पुस्ताभन्दा पहिलो पुस्तासँग आक्रोशित रहेको बताउनुभयो । ‘पहिलो पुस्ताले धेरै पार्टी सत्ता र राज्य सत्ता चलायो । दोस्रो पुस्ताको पनि आलोचना गर्छु र उनीहरूलाई समर्थन गर्छु किनभने पहिलो पुस्ताले दोस्रोलाई परीक्षणको मौका पनि दिएन,’ उहाँले भन्नुभयो, ‘नयाँ चुनौतीहरूलाई सामना गर्न पुस्तान्तरण आवश्यक छ । तर निरपेक्ष पुस्तान्तरण खोजेको होइन ।’

पुस्तान्तरणको अभियान सञ्चालन गरेका युवाले मंगलबार मात्रै स्थायी कमिटी बैठकमा आफ्नो विषय उठाइदिन पूर्वमुख्यमन्त्री शंकर पोखरेलसँग आग्रह गर्नुभएको थियो । केसीले यस विषयमा अध्यक्ष केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराउने बताउनुभयो । एमालेका नेताहरू महाधिवेशन प्रतिनिधि भएका एक तिहाइले केन्द्रीय कमिटीमा इच्छा देखाएको बताउँछन् ।

एमालेका सचिव तथा संगठन विभाग सदस्य पृथ्वीसुब्बा गुरुङले केन्द्रमा अत्यधिक रूपमा युवाले चाहना राखेको बताउनुभयो । ‘अहिले विभिन्न भ्रातृ संगठनमा काम गरिरहेका यति धेरै नेताहरू छन्, जसलाई पनि सोध्यो केन्द्रीय सदस्य हुने भन्छन् । महत्त्वाकांक्षा र अराजकता बढेको छ । नेतृत्व भनेको आफूलाई मनमा लागेको विषय हो र रु’ उहाँले भन्नुभयो, ‘नेतृत्वमा निश्चित गुण, अवधि, परिपक्वता चाहिन्छ ।’ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार