काठमाडौँ । विभिन्न ९ देशका भाषा वैज्ञानिकले ३२ भाषालाई लिएर छलफलमा जुट्ने भएका छन् । भाषा विज्ञान समाज नेपालको ४२ औं वार्षिक सम्मेलनमा उनीहरु जुट्न लागेका हुन् । यही शुक्रबार र शनिबार दुई दिने भुर्चुअल सम्मेलनको तयारी गरेको समाजका अध्यक्ष भाषाशास्त्री कृष्णप्रसाद चालिसे जनाएका छन् ।
‘यस वर्ष भाषा विज्ञानका २१ वटा विभिन्न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धान पत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरी छलफल गरिने छ,’ हरेक नोभेम्बर २६ हुने दुई दिने सम्मेलनबारे त्रिविका प्राध्यापक चालिसेले भने, ‘कोभिड–१९ माहामारीको कारणले यस वर्ष जम्मा ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत गरिने छ ।’
अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभाव जस्ता समाजभाषिक र सांस्कृतिक विषय केलाइने छ । त्यसैगरी भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैंगिकता, शक्ति, संस्कृति, लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषा विज्ञान विषयबारे समेत बहस हुने जनाइएको छ । ekantipurबाट