कार्यालय प्रमुखविहीन भएपछि एक महिनादेखि सेवा बन्द

बनेपा । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरू कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो।

जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धुलिखेलसम्म आएर नागरिकता बनाउन धेरै समय र खर्च व्यहोर्नुपर्ने अवस्था थियो।विसं २०७५ जेठ ९ गते महाभारत गाउँपालिकाको वनखुचौरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरी सो क्षेत्रका नागरिकलाई त्यहीबाट नागरिकता वितरणको काम सुरू गरिएको थियो।

अहिले कार्यालय प्रमुखको व्यवस्थापन गर्न नसक्दा त्यहाँका नागरिक फेरि नागरिकता बनाउनका लागि धुलिखेल धाउनुपरेको छ।इलाका प्रशासन कार्यालय महाभारत देवीटारका कार्यालय प्रमुख रामप्रसाद शर्माले आफूले पाएको कार्यालय प्रमुखको म्याद समाप्त भएपछि नागरिकका लागि सूचना जारी गरेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा रोकिएको बताउनुभयो। गत कात्तिक १२ गते कार्यालयमा सूचना जारी गरिएको थियो।

‘नागरिकता प्रमाणपत्र जारी गर्ने र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिने कार्य २०७८ कात्तिक १३ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ । कार्यालय प्रमुखविहीन भएपछि अहिले इलाका प्रशासन कार्यालयमा कम्प्युटर अपरेटर र कार्यालय सहायकले कार्यालय खोलेर नागरिकता बनाउने र प्रतिलिपि बनाउन आउनेको आवश्यक कागजात संकलन गरेर राख्ने र आवश्यक परामर्श दिने काम मात्रै भइरहेको छ।

कार्यालयका प्रमुख रामप्रसाद शर्मालाई कायममुकायम अधिकार दिएर तोकिएको ६ महिनाभन्दा बढी भएको र त्यो समय सकेर अर्को कार्यालय प्रमुखको व्यवस्थापन नभएपछि त्यहाँबाट प्रवाह हुने सेवा रोकिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो। ‘नियमले ६ महिनाभन्दा बढी कामु दिन नमिल्ने भएको र अरूलाई पठाउन पनि समस्या भएका कारण प्राविधिक हिसाबले समस्या देखिएपछि कार्यालय प्रमुखविहीन भएको हो’, उहाँले भन्नुभयो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार